Date: March 25, 2019

सिंहदरबारलाई गिज्याउँदै दार्चुलाः कतै ट्युब कतै तुइन

७ श्रावण २०७५, सोमबार ०२:४३

सन्तोष कोट्टारी  दार्चुला। जिल्लाको दुहू क्षेत्रमा महाकाली नदीमाथि लगाइएका आधा दर्जनभन्दा बढी तुइनहरूको माध्यमबाट स्थानियहरूले जोखिमपूर्ण यात्रा गर्न अझै पनि बाध्य भएका छन् । दुहू क्षेत्रबाट सदरमुकाम खलंगासम्म आउने सडकबाटो नहुँदा भारत गएर आउनुपर्ने बाध्यता रहँदै आएको छ।

महाकाली नदीमा झोलुंगे पुल नहुँदा दुहू क्षेत्रका स्थानीयहरूले भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यताले तुइनको यात्रा त्यस क्षेत्रका वासिन्दाका लागि बाध्यात्मक जोखिमपूर्ण यात्रा बनिरहेको हो । तुइनको जोखिमपूर्ण यात्रा गर्ने क्रममा कतिपयले ज्यानसमेत गुमाइसकेका स्थानीयहरूले बताउँदै आएका छन् ।

पहिले–पहिले भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिने र घरायसी समानहरू ओसारप्रसार गर्न नदिदाँ स्थानीयहरूले समस्या झेल्नुपरेको थियो । तर, अहिले भारतीय सुरक्षाकर्मीबाट त्यस्तो अवरोध नभए पनि तुइनको जोखिमपूर्ण यात्रा दुहू तथा व्यासका स्थानीयहरूका लागि बाध्यात्मक अवस्था नै बनेको छ ।

तुइन विस्थापन कार्यक्रम रोकियो

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्रीमा निर्वाचित भई पदबहाली भएकै दिन देशभरका तुइन दुईवर्षमा विस्थापित भइसक्ने निर्णय गरेका थिए । पहिलोपटक प्रधानमन्त्री हुदाँका बखत तुइन विस्थापन अभियान चलाएसँगै दार्चुलाका दुहू क्षेत्रका स्थानीयहरूले खुसी भएका थिए ।

तर, दार्चुलाको तिग्रममा एउटा झोलुंगे पुल निर्माण र लालीमा निर्माण कार्य सञ्चालन बाहेक अन्य स्थानहरूमा भने अहिलेसम्म पुल निर्माणको कार्य अलपत्र परेको छ । तुइन विस्थापन कार्यक्रमअन्तर्गत महाकाली नदीमाथि ९ ओटा पुल निर्माण गरिने भनिए पनि हालसम्म पुल निर्माणको कार्य नहुँदा तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य भएका छन्।

धौलाकोटको तिग्रममा पुल निर्माण गरि सञ्चालनमा रहेको छ भने लालीमा पुल हालसम्म निर्माण गर्न सकिएको छैन । यद्यपि, पुनः दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित ओलीले दुई वर्षभित्र बाँकी रहेका सबै तुइन विस्थापित भइसक्ने घोषणा गरिसकेका छन् ।

महाकाली नदीमाथि आधा दर्जन तुइन

सडक सञ्जाल नहुँदा महाकाली नदीमाथी अहिले पनि आधा दर्जन तुइनबाट त्यहाँका वासिन्दा वारपार गर्न बाध्य भइरहेका छन् । त्यस क्षेत्रमा नेपाल भारत जोड्ने झोलुंगे पुल नहुँदा तुइन लगाएर आवत–जावत गर्नुपरेको व्याँस—४ का रिउले कुवँरले दुखेसो पोखे । राप्लाको माल, बर्तीघाँट, मलघट्टया, डोकट घाँट, नाँजी, स्याँकु लगायतका विभिन्न स्थानमा तुइनहरू सञ्चालनमा रहेका छन्।

राप्ला, दुम्लिङ, सुन्सेरा, सिना, धौलाकोट, हुतीलगायत दुहू गाउँपालिकाका स्थानीयहरूले समेत तुइनको जोखिमपूर्ण यात्रा दैनिक गरिरहेका छन् । प्रधानमन्त्री ओलीको तुइन विस्थापन कार्यक्रमअन्तर्गत धौलाकोटको तिग्रममा नेपाल भारत जोड्ने झोलुंगे पुल निर्माण गरिसँगै तिग्रम र बसेडीमा लगाइएका तुइनहरू भने विस्थापित भएको व्याँस गाउँपालिका–५ धौलाकोटका स्थानीय निर्मला धामीले बताइन् ।

‘तिग्रम घाटमा झोलुंगे पुल निर्माण गरिएपछि तिग्रम र बसेडीका २ ओटा तुइन विस्थापित भएको छ, त्यस्तै अन्य स्थानहरूमा पनि झोलुंगे पुल निर्माण गरिए तुइनहरू विस्थापित हुँदै जान्थे, तर पुल नहुँदा तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ,’ उनको भनाइ थियो।

हिउँदमा महाकाली नदीमा पानीको सतह कम हुदाँ धेरै समस्या नहुने भए पनि अहिले वर्षात्को समयमा निकै समस्या हुने गरेको सुन्सेराका जसबहादुर खातीले बताए । व्याँस र दुहूका स्थानीयहरूले खाद्यान्न सामग्रीदेखि दैनिक उपभोग्य वस्तुहरू तुइनबाटै ढुवानी गर्ने गरेका छन् ।

सबै सामग्रीहरूका लागि भारतकै भरमा रहेका दुहू क्षेत्रका स्थानीयहरू तुइनको माध्यमबाट सामग्रीहरू ढुवानी गर्ने गर्दछन् । त्यहाँ स्थानीयहरूको किनमेल गर्ने बजार क्षेत्रसमेत भारतनजिक पर्ने भएकाले भारतबाटै सामग्रीहरू खरिद गरी तुइनबाट तार्ने गरेको स्थानीयले बताएका छन् ।

वर्षात्को समयमा महाकाली नदीमा पानीको सहत बृद्धि हुने भएकाले तुइनको यात्रा निकै जोखिम पूर्ण रहेको सुन्सेराका स्थानीय मानसिँह कुवँरले गुनासो गरे । ‘तुइनको यात्रा जोखिमपूर्ण छ भन्ने थाहा हुँदाहुँदै पनि गर्न बाध्य छौँ, पुल भएको भए, नेपालको बाटो भएर सदरमुकामसम्म आई सामान खरिद गर्ने थियौँ नि, कसलाई तुइनको जोखिमपूर्ण यात्रा गर्ने रहर हुन्छ र’ कुवँरले भने ।

ट्युबको यात्रा भने वर्षामा बन्द

दार्चुलावासीले तुइनको मात्र नभई ट्युबको जोखिमपूर्ण यात्रा पनि गर्न बाध्य छन् । सदरमुकामबाट उत्तर पश्चिम तिरका वासिन्दा तुइन लगाएर नदी पार गर्दछन् भने लेकम तिरका वासिन्दा ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छन् । लेकम क्षेत्रको लाली, उकु, राडम, बाँकु, कुज्र्यानी, गौजेगाडा भन्ने स्थानमा ट्युबको माध्यमबाट महाकाली नदीमा आवत–जावत गर्ने गरेका छन् ।

लेकम क्षेत्रमा नेपाल भारत जोड्ने पुल नहुँदा त्यहाँका स्थानीयहरूले ट्युबको यात्रा गर्नुपर्ने बाध्यता विगतदेखिकै हो । आधा दर्जन स्थानहरूमा ट्युबमा चढेर यात्रा गर्नुपर्ने बाध्यता रहेको लेकमका विशनसिँह भण्डारीले बताए । वर्षात्को समय सुरु भएसँगै महाकाली नदीमाथि सञ्चालन हुने ट्युबको यात्रा भने अहिले बन्द भएको छ ।

पानीको बहाब बढेसँगै असार दोस्रो हप्ताबाट महाकाली नदीमाथी चल्ने ट्युब बन्द गरिएको लालीका स्थानीय शेरबहादुर विष्टले बताए । पानीको बहाब बढेसँगै ट्युब बन्द भएपछि स्थानीयहरूलाई खाद्यन्न सामग्रीदेखि दैनिक उपभोग्य सामग्री ढुवानीमा निकै समस्या भएको छ ।

तुइन विस्थापन कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको लाली झोलुंगे पुल हालसम्म निर्माण सम्पन्न हुन नसक्दा अझै स्थानीयहरूले ट्युबको यात्रा गर्नुपरेको हो । पुलको निर्माण कार्यमा ढिलाइ हुँदा लेकमका स्थानीयहरू अझै ट्युबको यात्रा गर्न विवश बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा