Date: April 21, 2019

यसरी हुँदै छ नेकपाको प्रदेश र जनसंगठनबीच एकता

२७ श्रावण २०७५, आईतवार ०५:२९

मजदुरको एकता ६ महिना लाग्ने, जनसांस्कृतिक महासंघको ३१ साउनमा, प्रदेश–७ र युवा सबैभन्दा पछाडि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मातहत कमिटीको सम्मानजनक एकता गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ । जिल्ला, प्रदेश र जनवर्गीय संगठनहरूको एकताका लागि गठित कार्यदललाई प्रतिवेदन बुझाउन दिएको समय सकिनै लाग्दा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका शक्ति सन्तुलन र दोहोरो जिम्मेवारी नपर्ने गरी सम्मानजनक एकतामा नेकपाले ध्यान केन्द्रित गरेको हो ।

प्रदेश संगठन कमिटी, जिल्ला कमिटी र जनवर्गीय संगठनको एकताका लागि गठित कार्यदललाई साउन मसान्तसम्म केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाउने समय दिइएको छ । यसअघि नै इञ्जिनियरहरूको संगठनबीच एकता भइसकेको छ भने शनिबार मात्रै कर्णाली प्रदेशको एकताको टुंगो लगाई कार्यदलको तर्फबाट महासचिव विष्णु पौडेललाई प्रतिवेदन बुझाइएको छ ।

सबै कार्यदलबाट साउन मसान्तसम्म प्रतिवेदन आएपछि ५ भदौभित्र मातहत कमिटीको सांगठानिक एकता टुंग्याउने र १५ भदौसम्म जिल्ला, प्रदेशको बैठक र जनसंगठनको केन्द्रीय कमिटीको पहिलो बैठक आयोजना गर्ने समयतालिका यसअघि नै नेकपा सचिवालयले सार्वजनिक गरिसकेको छ ।

केन्द्रमा एकता भए पनि मातहत कमिटीको एकता टुंगो नलाग्दा पार्टी कार्यकर्ता चलायमान नभएको, सरकारविरुद्ध अफवाह फैलाउँदासमेत प्रतिवाद कम भएको निष्कर्षसहित नेकपाले मुख्य प्राथमिकतामा सांगठानिक एकता राखेको हो । एकतासँगै केन्द्रीय सदस्यहरूको कार्यविभाजनसहित देशभर परिचालन गर्ने योजनासमेत महासचिव पौडेलले अघि बढाएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डसहित सचिवालयका सबै नेताहरूको परामर्शमा महासचिव पौडेलले केन्द्रीय सदस्यको कार्यविभाजनको प्रस्ताव तयार पारेको एक नेताले बताए ।
पार्टी निर्देशनअनुसार प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने गरी अधिकांश कार्यदलले विधानदेखि केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नामावलीसमेत अन्तिम रूप दिइसकेका छन् । यही समय तालिनकाअनुसार काम भएमा नेकपाका सात प्रदेश, २१ ओटा जनवर्गीय संगठन र ७७ ओटा जिल्ला कमिटीमा ५ भदौभित्र एकता हुनेछ ।

प्रेस संगठन : नेतृत्व बाँकी
अहिलेसम्म पत्रकार संगठनबीच एकताका लागि अधिकांश गृहकार्य टुंगिएको छ । प्रेस चोतारी नेपाल र प्रेस सेन्टरबीच एकतापछि प्रेस संगठन नेपाल नाम राख्ने सहमतिसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको टुंगो लागिसकेको छ । सो संगठनको नेतृत्वको विषय मात्रै बाँकीरहेको छ । पार्टी कामको सिलसिलामा कार्यदल सदस्य रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराई २१ साउनमै उपत्यकाबाहिर जानुपरेकोले प्रतिवेदन बुझाउन नसकिएको बताइएको छ ।

भट्टराई उपत्यका फर्किसकेकोले केही दिनभित्रै कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको छ । सो कार्यदलमा भट्टराईसहित नेकपाकी स्थायी कमिटी सदस्य पम्फा भुसाल, गणेश बस्नेत र महेश्वर दाहाल रहेका छन् । सो संगठनमा २ सय २५ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय केन्द्रीय कार्यालय र केन्द्रीय कमिटीको एकतिहाइ सचिवालय रहने तय गरिएको छ ।

यस्तै अध्यक्ष र महासचिव मात्र पदाधिकारी रहने निर्णय कार्यदलले गरेको छ । यस्तै १ सय २५ सदस्यीय प्रदेश र ३५ सदस्यीय जिल्ला कमिटी रहने टुंगो लागेको नेतृ भुसालले जानकारी दिइन् ।

किसान: अखिल नेपाल किसान महासंघ
कार्यदल : वामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ ।
संगठनको नाम अखिल नेपाल किसान महासंघ राख्ने सहमति भएको कार्यदल सदस्य केशवलाल श्रेष्ठले जानकारी दिए । यस्तै गरी दुवै संगठनको १ सय ७५ जनाको दरले ३ सय ५० सदस्यीय केन्द्रीय कमिटी रहनेछ । राजनीतिक प्रतिवेदन सकिएको छ भने विधान प्रतिवेदन बाँकी रहेको छ । ५ भदौभित्र एकता गर्ने उनले बताए । नेतृत्वको विषयमा प्रवेश नै गरिएको छैन ।

महिला
कार्यदल : राधा ज्ञवाली, गोमा देवकोटा, उर्मिला अर्याल र अमृता थापामगर
दुई महिला संगठनबीच साउनभित्रै एकता गर्ने गरी गृहकार्य भइरहेको छ । एकता गर्नका लागि चार उपसमिति गठन गरिएको अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाले जानकारी गराइन् ।

नेतृत्व, नाम, झण्डा र केन्द्रीय कमिटीमा रहने सदस्यको विवाद रहँदै आएको छ । दुवै अनेमसंघले आआफ्नो नाम, नेतृत्व र झण्डा दाबी गरिरहेको अध्यक्ष देवकोटाले जानकारी गराइन् । उनका अनुसार कार्यदलको बैठक आइतबार बसेर सहमति गर्ने प्रयास गरिनेछ । मिल्न नसकेका कुरा पार्टी नेतृत्वमा पठाइनेछ । चार उपसमितिले अझै प्रतिवेदन बुझाएका छैनन् ।

मजुदर : ६ महिना लाग्ने
कार्यदल : विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी
तत्कालीन एमालेको नेपाल ट्रेड युिनयन महासंघ (जिफन्ट) र माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युिनयन महासंघ (अन्टुक) बीच एकता हुनका लागि कम्तिमा ६ महिना लाग्नेछ । मजदुर संगठन श्रम कार्यालयमा दर्ता हुने भएकोले तिनीहरूको दर्ता खारेज र एकता गर्नका लागि ६ महिना लाग्ने जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ बताए ।

महासंघअन्तर्गत २९ वटा संगठन भएकोले तिनीहरूको एकताका लागि समय लाग्ने उनले बताए । दुई मजदुर संगठनको एकताका लागि श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ । अहिले कमिटीले २९ वटा संगठनको एकतामा लागेको छ । तिनीहरूको एकता सकिएपछि मात्र जिफन्ट र अन्टुकबीच एकता हुने उनले बताए ।

युवा : सबैभन्दा पछाडि
कार्यदल : मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा
युवा संगठनको विधान छलफलकै चरणमा भएकाले केही दिनभित्र तयार गरिने योङ कम्युनिस्ट लिग (वाइसिएल) का अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार नेतृत्व, संगठनको नाम र केन्द्रीय कमिटी संख्या बाँकी रहेको छ । ती विषय सहमति गर्नका लागि कार्यदल छलफलकै क्रममा रहेको छ ।

विद्यार्थी : विधान टुंगियो, नाम–नेतृत्व बाँकी
कार्यदल रवीन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रञ्जित तामाङ
एकताका लागि गठित तीन उपसमितिले कार्यदललाई प्रतिवेदन बुझाएको छ । अहिले ती उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल जारी रहेको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले जानकारी दिए । उपसमितिले प्रतिवेदन बुझाएपछि कार्यदलको बैठक बसी संगठनको नाम, नेतृत्व र केन्द्रीय कमिटी सदस्य टुंग्याउन बाँकी रहेको उनले बताए । संगठनको झन्डा एउटै भएकाले विवाद छैन ।

कलाकार : जनसांस्कृतिक महासंघ
कार्यदल : मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्री
३१ साउनमा एकता गर्ने तयारी रहेको कार्यदल सदस्य सरल सहयात्रीले जानकारी दिए । उनका अनुसार नाम जनसांस्कृतिक महासंघ तय भएको छ भने १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । नेतृत्वको विषयमा सहमति हुन नसकेकोले पार्टीलाई जिम्मा दिने तर ३१ साउन अगावै सहमति गरिनेछ ।
यसैगरी जनजाति, मधेसी, भूतपूर्व सैनिक प्रहरी, अपांगता भएका व्यक्तिहरूको संगठन, भूमिहीन सुकुम्बासी, मुस्लिम, दलित, बुद्धिजीवी, पेसागत कर्मचारी, मानवअधिकार, खेलकुद, कानुन, उद्योगी व्यवसायी, प्रवासी मञ्चसँग सम्बन्धित जनसंगठनहरूले पनि एकता कार्यदलले काम अन्तिम चरणमा पुर्याएको छ ।

प्रदेश र जिल्ला एकता
कर्णाली प्रदेश (९ जिल्ला)
कार्यदल युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा

प्रदेश कमिटी १ सय ७५ सदस्यीय
पूर्वएमालेबाट ८७ र पूर्वमाओवादीबाट ८८ जना
हाराहारी हैसियतमै प्रदेश र जिल्ला कमिटी बनाउने गरी संख्या टुंग्याएर कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको छ । प्रदेशको संख्या टुंगो लागिसकेकाले नेतृत्व मात्र टुंग्याउन बाँकी छ । प्रदेशका १० जिल्लामध्ये पछिल्लो चुनावको जनमत र पार्टी सदस्य संख्याका आधारमा जिल्लाको नेतृत्व सकभर बराबरी हुने गरी टुंग्याउने तयारी छ ।

प्रदेश–१ (१४ जिल्ला)
कार्यदल : भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले
प्रदेश कमिटी २ सय ७ सदस्यीय

पूर्वएमालेबाट १ सय २२ र माओवादीबाट ८५
दुई दिनभित्र प्रदेश संगठन कमिटीमा रहने सदस्यहरूको नाम टुंगो लगाएर सचिवालयलाई बुझाउने तयारी भइरहेको कार्यदल सदस्य भीम आचार्यले जानकारी दिए । उनका अनुसार प्रदेश अध्यक्ष र सचिवका दाबेदारहरूको नामसहित प्रतिवेदन बुभाउने तयारी छ । प्रदेश कमिटी टुंगो लागेलगत्तै १४ जिल्लाको संख्या र नेतृत्वसहितको सिफारिस गर्ने तयारी छ । यीमध्ये तत्कालीन माओवादी केन्द्रले झापा, मोरङ र सुनसरीमध्ये एकसहित कम्तीमा ४ जिल्ला नेतृत्व दाबी गरेको छ ।

प्रदेश–२ (८ जिल्ला)
कार्यदल : सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह
प्रदेश कमिटी : २ सय १५ सदस्यीय (५ प्रतिशत रिक्त राखिने)
तीन दिनभित्र प्रदेश संगठन कमिटीको संख्या र नाम टुंगो लगाएर प्रतिवेदन बुझाउने तयारी भइरहेको कार्यदल सदस्य सत्यनारायण मण्डलले जानकारी दिए । उनका अनुसार प्रदेश र जिल्ला कमिटीमा समेटिने संख्या र नेतृत्व पनि हाराहारी नै हुने गरी छलफल चलिरहेको छ । आठ जिल्ला–सिरहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहटमध्ये पूर्वएमालेले कम्तीमा पाँच र माओवादी केन्द्रले कम्तीमा चार जिल्लामा नेतृत्व पाउनुपर्ने दाबी गरेको छ ।

प्रदेश–३ (१३ जिल्ला)
कार्यदल : अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहाल
प्रदेश कमिटी : २ सय १७ सदस्यीय (अन्तिम टुंगो लाग्न बाँकी)
कार्यदल सदस्यहरूले काठमाडौंसहित १३ भूगोलका जिल्ला र चार विशेष जिल्ला कमिटीसहित १७ वटा कमिटीको संख्या र नेतृत्व कसले लिनेबारे छलफल चलिरहेको छ । यसमा टुंगो लागेपछि मात्र प्रदेश कमिटी र जिल्लामा समेटिने नाम एकैपटक बुझाउने कार्यदलको तयारी छ । पूर्वएमालेको जोड ६०÷४० र पूर्वमाओवादीको जोड ५५÷४५ को अनुपातमा प्रदेश कमिटी बनाउनुपर्नेछ ।

गण्डकी प्रदेश (११ जिल्ला)
कार्यदल : किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी
प्रदेश कमिटी ः १ सय ८७ सदस्यीय, २८ साउनभित्र प्रदेश संगठन कमिटी र नौ वटै जिल्ला कमिटीको नामावली केन्द्रमा पठाउनका लागि निर्णायक बैठक गरिने कार्यदल सदस्य, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बताए । अहिलेसम्म पर्वत, मुस्ताङ, म्याग्दी र लमजुङ जिल्ला कमिटीको संख्या टुंगो लागेको छ भने कास्कीसहित बाँकी सबै जिल्लाको संख्या र नेतृत्वबारे दुवैतर्फका पाँच÷पाँच जनाको कार्यदलले छलफल चलाइरहेको छ । पूर्वमाओवादीले कम्तीमा तीन जिल्लाको नेतृत्वमा दाबी गरेको छ ।

प्रदेश–५ (१३ जिल्ला)
कार्यदल : शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन

प्रदेश कमिटी : २ सय ३ सदस्यीय

कार्यदल सदस्य मणि थापाका अनुसार २ सय ३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीबाट हाराहारीको संख्या रहने गरी प्रदेश कमिटीको नाम टुंग्याउने अन्तिम तयारी भइरहेको छ । प्रदेशका १३ जिल्लामध्ये पूर्वी–रुकुम, प्युठान, रोल्पा र बर्दियामा पूर्वमाओवादीले अध्यक्षको दाबी गरेको छ । पूर्वएमालेले रुपन्देही, पाल्पा, दाङ, गुल्मी, बाँके, अर्घाखाँची र नवलपरासीसहितका बाँकी जिल्लामा नेतृत्व दाबी गरेको छ । प्रदेश–५ को अधिकांश जिल्लामा एकता अनुपातमा सहमति जुटिसकेको छ ।

प्रदेश–७ (९ जिल्ला)
कार्यदल : भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी
प्रदेश कमिटी १ सय ८३ सदस्यीय, अन्य विषयमा सहमति प्रयास जारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा